अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

जीवनशैली

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये अग्रस्थानमै पर्छ । यसको पहिचान जति छिटो हुन सक्यो, उति नै उपचार गर्न सजिलो हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बेलैमा जोगिन अनिवार्य प्याप स्मियर परीक्षण गर्ने विषयमा चिकित्सकहरुले पहल गरिरहेका छन् । यसबारे जनचेतना जगाउने खालका शिविर तथा कार्यक्रम पनि बेलाबखतमा हुने गरेका छन् ।

प्याप स्मियर परीक्षण गर्दा पाठेघरको मुखमा भएको कोषिकाको अवस्था थाहा हुन्छ । यसको एउटा सजिलो, छरितो र प्रभावकारी परीक्षण विधि हो, प्याप स्मियर । यस परीक्षणले पाठेघरभित्र कोषमा भएको असामान्य परिवर्तन जस्तै, त्यहाँ भएको संक्रमण, घाउ र क्यान्सरको जोखिम कति छ भन्नेकुरा निर्क्योल  गर्न सकिन्छ । जसबाट पाठेघरमा कुनै समस्या भए छिट्टै उपचार प्रक्रियामा जान सकिन्छ ।

क्यान्सर भइसकेपछि लक्षणहरू ढिलो देखिने र ढिलो अस्पताल जाँदा ज्यान जोखिममा पुग्ने अवस्था आउँछ । त्यसैले महिलाहरूले बेलाबेलामा प्याप स्मियर परीक्षण गराइरहनुपर्ने छ । वर्षमा एक पटक प्याप स्मियर गराएमा पाठेघरको मुखको क्यान्सरको जोखिम ५० प्रतिशत कम हुन्छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम

यौन सम्पर्क राख्ने बित्तिकै एचपीभीको संक्रमण हुन्छ भन्ने हुँदैन । तर यौन जीवनमा सक्रिय हुने महिलाले हरेक तीन वर्षमा एकपटक प्याप स्मियर परीक्षण गराउनु आवश्यक हुन्छ । किनभने पाठेघर क्यान्सर गराउने मुख्य कारक यौन सम्पर्कपछि पाठेघरमा फैलिन सक्ने एचपीभी भाइरसलाई लिइएको छ । यस्तोमा प्रश्न आउन सक्छ, अविवाहित महिला वा किशोरीको लागि प्याप स्मियर जरुरी छैन ?

यौन सम्पर्क नराखेका महिला वा किशोरीमा पनि पाठेघरको क्यान्सर हुने सम्भावना हुन्छ । तर एकदमै कम । शारीरिक सम्पर्क नगरे पनि मुख मैथुन गर्नेजस्ता यौनजन्य क्रियाकलापबाट पनि एचपीभी भाइरस सर्न सक्ने सम्भावना हुन्छ । किनभने यो छालाबाट पनि सर्न सक्छ ।

नेसनल हेल्थ सर्भिस एनएचएसका अनुसार एचपीभी भाइरस यौन सम्पर्क बाहेकका अन्य यौन गतिविधिबाट पनि सर्न सक्छ । जस्तै, एकअर्काको यौनाङ्ग छुँदा, सेक्स टोएज साटासाट गर्दा, कमजोर प्रतिरोध क्षमता र मुख मैथुन गर्दा पनि सर्न सक्छ । तर यौन सम्बन्ध कायम गर्नेको तुलनामा यो निकै कम छ ।

अध्ययन अनुसार धुम्रपान गर्ने महिलामा पनि पाठेघरको जोखिम हुन सक्छ । धुम्रपानमा केही मात्रामा पाठेघरमा हुने डीएनएको कोषलाई क्षति गर्ने केमिकल हुन्छ । त्यसैले पाठेघरको मुखको क्यान्सरबाट जोगिन २० वर्षको उमेर पार गरेपछि प्याप स्मियर परीक्षण गराउनु उत्तम हुन्छ ।

त्यस्तै, कम उमेरमा विवाह र सन्तान जन्माउँदा, धेरै सन्तान जन्माउँदा, धेरै जनासँग यौन सम्पर्क राख्दा, धुम्रपान तथा मद्यपान गर्दा, गर्भनिरोधक चक्कीको अत्यधिक प्रयोग गर्दा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।

कुन उमेरदेखि प्याप स्मियर परीक्षण ?

पश्चिमी मुलुकमा २०-२१ वर्षदेखि नै यौनजीवनमा सक्रिय रहने भएकाले २० वर्षदेखि नै प्याप स्मियर परीक्षण गराउनुपर्ने बताइन्छ । तर नेपालको मापदण्डमा भने ३० देखि ६० वर्षको उमेर समूहका महिलाले अनिवार्य तीन-तीन वर्षको अन्तरालमा गराउनु भनिन्छ ।

२० वर्ष नपुग्दै कुनै किशोरी यौन क्रियाकलापमा सक्रिय छन् भने उनीहरुले पनि जाँच गराउन सक्छन् । मेनोपोज भएपछि महिलाको पाठेघरमा एचपीभी  भीको भाइरस नहोला भन्न सकिन्न । एचपीभी भीको भाइरस शरीरमा छ भने १० वर्षपछि पनि क्यान्सर गराउन सक्छ ।

यस्ता अवस्थामा प्याप स्मियर परीक्षण गराउनु आवश्यक

-शारीरिक सम्पर्क राख्दा पीडादायी भएमा वा रगत देखिएमा

-महिनावारी नभए पनि बीचमा रगत देखिएमा

-प्रजनन अंगमा दुखाइ महसुस भएमा

-सेतो र गन्हाउने पानी योनीमा आइरहेमा

-तल्लो पेट लगातार दुख्ने वा ढाड दुख्ने भएमा

-तौल घट्दै गएमा

प्याप स्मियर परीक्षण कहाँ गर्ने, शुल्क कति लाग्छ ?

नेपालमा सरकारी तथा निजी अस्पतालमा प्याप स्मियरको सेवा उपलब्ध छ । स्त्रीरोग विशेषज्ञ भएको प्रायः अस्पताल वा स्वास्थ्य संस्थामा स्मियरको सुविधा छन् । सरकारी अस्पतालमा प्याप स्मियर सेवाको मूल्य ५०० देखि ७०० रुपैयाँ पर्छ । विपन्न महिलाका लागि भने सरकारी अस्पतालमा निःशुल्क यसको परीक्षण गर्ने व्यवस्था छ । निजी अस्पतालमा भने फरक-फरक मूल्य तोकिएको हुन्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुवेदीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

Source : Onlinekhabar.com

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *