मेयर बालेनको साहसिक निर्णय, कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’ को नक्सा

खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएनन् ।

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।

के हो ग्रेटर नेपाल ?
कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची-महाकालीमा खुम्च्याइदिएको छ ।

भारतबाट अंग्रेज फिर्ता भएपछि नेपालले पनि आफ्नो गुमेको भूमी स्वतः फिर्ता पाउनुपर्ने थियो । तर, तत्कालीन समयमा नेपालले बलियो पहल गर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मका भूभाग भारतमै स्थायीरूपमा गाभिन पुगे । भारतले ती जमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाज अहिले पनि उठ्ने गरेको छ । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालले ग्रेटर नेपालको प्राप्तिका लागि लामो समयदेखि अभियान नै चलाइरहेका छन् ।

भारतले ‘अखण्ड भारत’ को नक्सा राखेसँगै नेपालमा ग्रेटर नेपालको नक्सा चर्चामा आइरहेको छ । युवा पुस्ताले पनि यसबारेमा चासो दिइरहेका छन् । पूर्वटिस्टादेखि पश्चिम काँगडासम्म समेटेर बनाइएको नक्सा नै ग्रेटर नेपालको नक्सा हो । @nepalpress.com

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *