प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । यही चैत महिनाभित्र उनी भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ । भारतीय दूतावास स्रोतले भन्यो, ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ, तर मितिको टुंगो लागेको छैन, मितिको बारेमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भ्रमणका क्रममा रेल उद्घाटनका साथै दुई पक्षीय आपसी चासोका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । यसबारे आवश्यक तयारीका लागि दुई देशबीच छलफल चलिरहेको छ ।


यसअघि पुसमा नै देउवा भारत भ्रमणमा जाने तयारी थियो । तर कोभिडका कारण अन्तिममा आएर कार्यक्रम रद्द भएको थियो ।
चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान मिति तय हुने स्रोतको भनाइ छ । चिनियाँ विदेशमन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
