डिपी अर्याल : मजदुरीदेखि मन्त्रीसम्म

खबर मुख्य खबर

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका अर्याललाई पार्टीले श्रम मन्त्रीको लागि सिफारिस गरेको थियो । अर्यालसँगै रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीले पनि शपथ लिएका छन् ।

धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । पछिल्लो समय, पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाजसेवामा सक्रिय अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए ।

रेस्टुरेन्टको सामान्य मजदुरदेखि मन्त्रीसम्मको यात्रा
धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्य गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । बि.स. २०३२ सालमा जन्मिएका अर्याल २०४९ सालपछि मात्रै काठमाडौँमा प्रवेश गरेका थिए । रोजगारीका लागि काठमाडौँ प्रवेश गरेका अर्यालले रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम गर्नेदेखि इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब ८ वर्ष काम गरेका छन् । जापानबाट फर्किएपछि पर्यटन पेसामा होमिएका अर्यालले सोही समयमा पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी सक्रिय भएका थिए ।

जापानबाट फर्किएपछि सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन् ।

पछिल्लो समय समाजसेवामा समेत सक्रिय रहेका अर्यालले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा उनले सक्रियता देखाएका थिए ।

श्रममन्त्री अर्याल करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् । इजिलिंक रेमिटेन्समा सिइओ भई काम गरिसकेका अर्याल व्यवस्थापनको क्षेत्रमा दक्षता राख्छन् ।

जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कूल र योकोहामा जापानिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरिसकेका छन् । अर्याल आफै पनि वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति भएका कारण वैदेशिक रोजगारीको दुख र समस्यासँग जानकार व्यक्ति हुन् ।

लामो सदयदेखि इजिलिंक रेमिटेन्सको सञ्चालन गरिरहेका अर्याल खाडी मुलुकबाहेक जापान, कोरिया लगायतका देशका नेपाली श्रमिकको समस्याबारे जानकार छन् ।

यसअघि राजनीतिमा नजोडिएका अर्याल ‘विकृत’ राजनीतिक अवस्थाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएको बताउँछन् । पार्टीले श्रममन्त्रीको जिम्मेवारी दिएपछि आफूमाथि थप जिम्मेवारी थपिएको भन्दै स्वदेशी तथा विदेशमा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका छन् । सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गराउने र बाध्यात्मक अवस्थामा मात्रै वैदेशिक रोजगारीमा जाने वातावरण निर्माण गर्न काम गर्ने अर्यालले बताए ।@ratopati.com

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *