दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए ।
काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका नेपाली कामदारले म्यानपावर कम्पनीले भनेअनुसार काम नपाएका हुन् ।
‘हामी यहाँ आएको दुई महिना हुन लाग्यो न कम्पनीले काम दिएको छ न पैसा, दुई महिनाको अन्तरालमा कम्पनीले ६/७ सय रियाल जति मात्र दिएको छ, त्यो पैसाले खानै पुग्दैन ,’ अवधेश प्रसाद गुप्ताले भने, ‘यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ बस्दैनौँ, चाँडो उद्धार गरिदिनुहोस् ।’
कम्पनीले कहिलेकहीँ सप्लाई कम्पनीमा एसी बोक्ने र लोडरअनलोडको काममा पठाउने गरेको पीडित मध्यका एक अवधेशप्रसाद गुप्ताले गुनासो गरे। धेरै समय काम नपाएपछि लेबर क्याम्पमा बसेको तथा खानाको लागि हरेक १०/१५ दिनमा एक सय साउदी रियाल मात्र कम्पनीले दिने गरेको उनले सुनाए ।
रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा म्यानपावरतिरै औँला सोझाइदिएको पीडितहरूले बताए । म्यानपावरलाई सम्पर्क गर्दा आजरभोलि भन्दै टार्ने गरेको छ । ‘मैले म्यानपावरका प्रतिनिधि र आफूलाई पठाउने एजेन्टलाई सम्पर्क गरेँ,’ अर्का युवा सुनिल राज सोनीले भने, ‘ म्यानपावर र एजेन्टले हाम्रो कुरै सुन्दैन उल्टै हप्काउँछन्, एजेन्टको घरमा अभिभावकलाई पठाउँदा राम्रै छ भन्दो रहेछ ।’
म्यानपावर कम्पनी तथा विभिन्न एजेन्टहरूलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर गएका थिए। तीनै एजेन्टलाई नेपाल फर्काउन सहयोग नगरे मिडियामा जान्छु भन्दा ‘तेरो लागि तीन लाख छुट्ट्याएको छु’ भन्ने धम्की दिएको उनले बताए ।
आफूहरूलाई पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई उनीहरूले अपिल गरेका छन्।
समस्या समाधान गर्छौ : म्यानपावर
एचआर इन्टरनेशनल इम्पोईमेन्ट सर्विसका मार्केटिङ डाइरेक्टर सुधीर कुमार खातीले अबको १०/१५ दिनमा सबै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । ‘काम गर्नको लागि गएकाहरूले काम नपाएको गुनासो हो भने हामी सेटलमेन्ट गर्छौँ’, उनले भने।
खानै नपाएको भन्ने नेपालीको भनाइ भने गलत रहेको उनको दाबी छ । काम गरिरहेकाहरूलाई हरेक महिना तीन सय रियाल पाइरहेको र केहीले १० अप्रिलसम्म पाउन बताए । त्यति मात्र होइन काम नपाएकाहरूलाई एक हप्तामै कम्पनीले काम दिने जिकिर गरेका छन् ।
‘हामी पनि कामदारलाई समस्या पर्दा हात बाँधेर बस्दैनौँ, त्यो हाम्रो जिम्मेवारी हो र हामीले नगरे कसले गर्छ रु हामी पूरा गर्छौ ।,’ उनले थपे ।
स्वदेश फिर्ता हुन चाहेका छन् नि ? भन्ने प्रश्नमा उनले आफूहरूले भने अनुसारको काम दिन नसके फिर्ता पठाउन तयार रहेको पनि बताए ।