मेरो गाउँ पहिले सम्पन्न कि अहिले ?

विचार

केशव दुवाडी

मेरा बा अठार पाथी चामल

अनि सात दिनलाई पुग्ने सातु सामल

खाङ्ग्रे डोकामा बोकेर नेपाल जान्थे

भन्थिन् मेरी आमा।

ढाकर बोकेर

चामल बेचेर

बर्खाभरीलाई पुग्ने

नून तेल जिरा मसला

लिएर घर आउँथे

भन्थिन मेरी आमा।

पहिले

काठमाडौं जान आउन सातदिन लाग्थ्यो

अहिले

काठमाडौजा आउन सात घन्टा लाग्छ

पहिले

दुख थियो शरीरलाई

सुख थियो मनलाई

अहिले सुख छ शरीरलाई

दुख छ मनलाई।

पहिले गाउँको उत्पादनले

गाउँलाई पुग्थ्यो

अहिले जिल्लाको उत्पादनले

एउटा गाउँलाई पुग्दैन ।

पहिले कोदो मकै

ककरी मकरी

ढीडो रोटो

सबै खाइन्थ्यो ।

अहिले

सेतो चामल मात्र खाइन्छ ।

पहिले पेटका लागि खाइन्थ्यो

अहिले जिब्रोको लागि खाइन्छ ।

पहिले उत्पादन गर्न खेतबारी धाइन्थ्यो

अहिले ‘मर्निङवाक ‘ गर्न सडक धाइन्छ ।

पहिले

खानाले भुँडी भरिन्थ्यो ।

अहिले

खानाले भुँडी भारी हुन्छ

प्रेसर र सुगरले छुन्छ।

पहिले

सडक थिएन

खुट्टा दह्रो थियो ।

अहिले

सडक छ ,

तर खुट्टा लुलो छ ।

पहिले सञ्चार थिएन

तर सँस्कार थियो ।

अहिले

सञ्चार छ

तर सँस्कार छैन ।

पहिले

बोल्दा पैसा लाग्दैनथ्यो ।

अहिले

पल पल बोलेको पैसा लाग्छ ।

पहिले एक घन्टा हिँडेर

पैसा नतिरी सदरमुकाम पुगिन्थ्यो ।

अहिले

दुई घन्टा गुडेर

पैसा तिरेर सदरमुकाम पुगिन्छ।

बजारबाट गाउँ जाँदा गाडी टन्न

गाउँबाट बजार फर्कँदा गाडी रित्तो

गाउँको पैसा सिद्धियो।

गाउँमा भौतिक विकास छिर्यो

खर्च धान्न नसकेर

गाउँका नौजवानहरु

विदेश छिरे।

गाउँमा

पाञ्चायन पूजाको

शंख घन्ट गुञ्जिन छाड्यो

चौतारी वनमा सुनसान छ ।

बुढा खाडा खोक्दै

छोराछोरीसँग

भिडियो कल गरिरहेकाछन्

कलमा सञ्चै छु भने पनि

पल पल मरिरहेछन्।

ल भन्नोस्

मेरो गाउँ पहिले कि

अहिले संपन्न?

राधे राधे!!

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *