यसरी बढाउन सकिन्छ खुसी बनाउने डोपामाइन हार्मोन

जीवनशैली

मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने डोपामाइन हार्मोन हो । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ । तर केही राम्रो खबर सुनियो, आफूलाई मनपर्ने खाना खाइयो, मनपर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौं र खुसी भएको बेला यो हार्मोनको उत्पादन बढी हुन्छ ।

जब मस्तिष्कमा डोपामाइन रसायनको ठूलो मात्रामा उत्पादन हुन्छ, तब मनमा प्रेरणा, खुसी र विश्राम आदि जस्ता धेरै सकारात्मक भावना उत्पन्न हुन्छन् । हाम्रो स्मरण क्षमतालाई राम्रो बनाउने, शरीरमा ऊर्जा प्रदान गर्ने र मुडलाई राम्रो बनाउने काम पनि डोपामाइन हार्मोनकै हो ।

कसरी उत्पादन हुन्छ डोपामाइन ? 

मानव मस्तिष्कमा ‘हाइपोथलामस’ भन्ने ग्रन्थि हुन्छ । जुन ग्रन्थि हाम्रो भावनासँग जोडिएको हुन्छ । हामीले आफूलाई मनपर्ने मान्छेलाई भेट्यौं, आफूलाई मनपर्ने संगीत सुन्यौं भने त्यसले हाइपोथलामस ग्रन्थिलाई प्रभावित पार्छ र त्यहाँ डोपामाइन हार्मोन उत्पादन गर्छ र हामीलाई खुसी बनाउँछ ।

डोपामाइनको उत्पादन कम वा बढी हुँदा समस्या

शरीरमा डोपामाइन हार्मोनको कमी भयो  भने ‘पार्किन्सन’ रोग  लाग्न सक्छ । पार्किन्सनको समस्यामा बिर्सिने समस्या, हातखुट्टा राम्ररी नचल्ने, बोली लर्बराउने जस्ता लक्षण देखिन्छन् । शरीरमा डोपामाइनको कमीका कारण पार्किन्सनको समस्या भयो भने बिरामीलाई डोपामिन हार्मोन दिनुपर्ने हुन्छ ।

डोपामाइनको कमी मात्र होइन, बढी भयो भने पनि समस्या हुन सक्छ । शरीरमा डोपामिन बढी हुँदा व्यक्तिको मुड परिवर्तन भइरहने, आक्रामक हुने जस्ता समस्या देखा पर्न सक्छ ।

प्राकृतिक रूपमा डोपामाइन सन्तुलनमा राख्ने उपाय

स्वस्थ र सन्तुलित खाना शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । डोपामाइनको कमी हुन नदिन प्राकृतिक र सन्तुलित खाना खानुपर्छ ।

शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्न व्यायाम प्रभावकारी माध्यम हो । नियमित रूपमा व्यायाम गर्ने बानीले डोपामाइन हार्मोनको स्तर बढाउन मद्दत गर्छ । यी हर्मोनले मुड सुधार्न मद्दत गर्छ । त्यसैले खुसी रहन र राम्रो स्वास्थ्य कायम राख्न नियमित व्यायाम गर्नुपर्छ ।

निद्राको कमीले मस्तिष्कमा डोपामाइन हार्मोनलाई कम गर्न सक्छ । त्यसैले शरीरमा प्राकृतिक डोपामाइन चक्रलाई सन्तुलित राख्न ६ देखि आठ घण्टा राम्ररी निदाउनु जरुरी छ ।

नकारात्मक भावनाहरू आइरहन्छ भने घरभित्र एक्लै बस्नु भन्दा घाममा बस्नु राम्रो हुन्छ । किनकि सूर्यको किरणले हाम्रो शरीरमा रहेको डोपामाइनलाई बढाउँछ ।

योग ध्यान र राम्रो संगीतले पनि डोपामाइन हार्मोनको मात्रा बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले शरीरमा डोपामाइन हार्मोन बढाउन योग, ध्यान गर्ने र मीठो संगीत सुन्ने गर्नुपर्छ ।

(कन्सल्टेन्ट न्युरोसर्जन डा. राउत पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *