आश्विन दुवाडी, राजु झल्लु प्रसाद
सर्वसाधारण र सामान्य मानिसको लागि पृथ्वी राजमार्गको मलेखु-फुर्केखोलाबाट धादिङबेसीतर्फको कालुपाण्डे मार्ग केवल साँघुरो र धेरै घुम्ती भएको जोखिमपूर्ण मार्ग हो । थोपल खोला किनारको नागबेली बाटो, ठूलाठूला मोड, साँघुरो सडक, दुर्घटनाको जोखिम यस मार्गको अर्को परिचय हो तर भौगर्भिक ढङ्गबाट अध्ययन र अनुसन्धान गर्नेहरूका लागि भने यस सडकखण्ड र आसपासका क्षेत्र खुल्ला विश्वविद्यालय हो । भूगर्भ र चट्टानका अध्ययनको लागि यो क्षेत्र विश्वकै उत्कृष्ट सङ्ग्रहालय अन्तर्गत पर्दछ।
मध्ये नेपालको (सेन्ट्रल नेपाल) लेसर हिमालय अन्तर्गत पर्ने यो क्षेत्रमा पाइने चट्टान, तिनीहरूको प्रकार, तिनीहरूमा भेटिने विभिन्न भौगर्भिक संरचना (स्टक्चर), तिनीहरूको उत्पत्तिदेखि तिनीहरूमा पाइने अन्य बहुमूल्य खनिज मिनिरलको बहुउपयोगिता त छँदैछन्, भौगर्भिक अध्ययन र अनुसन्धानका दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
नेपालमा पाइने चट्टानहरूमध्ये करिब आधा भन्दा धेरै चट्टान सिद्धलेक गाउँपालिकाको कालीदहदेखि मलेखु बेनिघाटसम्मको छोटो दुरीमा नै भेटिन्छन् । अझ लेसर हिमालयमा पाइने त अधिकांश चट्टानहरू यहाँ पाइन्छन् । विभिन्न पत्रे चट्टान, परिवर्तित चट्टान र केही आग्नेय चट्टानसम्म भेटिने यो छोटो दुरीको भूभाग एउटा खुल्ला भौगर्भिक सङ्ग्रहालय हो । नेपालको भूबनोटको दृष्टिकोणले दक्षिणतिर अति नै होचो भूबनोट जसलाई तराई भनिन्छ भने दक्षिणबाट उत्तरतिर क्रमशः चुरे, महाभारत र हिमाल भनी सम्बोधन गरिन्छ । यसैलाई भौगर्भिक भाषा र अनुसन्धानबाट इन्डोगेन्गेटिक प्लेन, शिवालिक, लेसर हिमालय, हाइयर हिमालय, तेथिस हिमालय भनी नामकरण गरिएको छ । भौगर्भिक भाषामा हाइएर हिमालयको दक्षिणमा रहेको पहाडलाई लेसर हिमालय भनिन्छ ।
सर्वप्रथम सन् १९७७ मा जे. स्टकलिनले नेपाल आएर यस क्षेत्रका चट्टान र तिनको उत्पत्ति बारेमा अध्ययन अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा उनले यस क्षेत्रका विभिन्न प्रकारका चट्टानहरूलाई विभिन्न नाम सहित आठ भागमा विभाजन गरेका छन् (जियोलोजिकल फर्मेसन) । जहाँ उनले चट्टानका प्रकार, तिनीहरूको उत्पत्तिको समय, वातावरण, तिनीहरूको गुणदेखि रङ्गसम्मका आधारमा विस्तृत वर्गीकरण गरेका छन् । फिलाइट(Phyllite), क्वार्जाइट(Quartzite), डोलोमाइट(Dolomite), लाइमस्टोन(Limestone), स्लेट(slate), मेटा बसाइट(Metabasite), मेटाग्याब्रो(Metagabbro) आदि यस क्षेत्रमा पाइने प्रमुख चट्टानका वैज्ञानिक नाम हुन ।
फिलाइट कमजोर प्रकृतिको परिवर्तित चट्टान हो भने क्वार्जाइट बलियो प्रकृतिको परिवर्तित चट्टान हुन् । त्यस्तै, स्लेट घरको छानो छाउन प्रयोग गरिने ढुङ्गा हो । लाइमस्टोन र डोलोमाइट पत्रे चट्टान हुन्, यिनीहरू चुनढुङ्गा भनेर पनि चिनिन्छन् । मेटाबसाइ र मेटाग्याब्रो नामका चट्टान आग्नेय चट्टानबाट परिवर्तित हुँदै गरेका चट्टान हुन् । जे. स्टकलिनको अध्ययनपश्चात् दर्जनौँ अध्ययन र अनुसन्धान यस क्षेत्रका चट्टान र चट्टानमा पाइने खनिजका विषयमा भइसकेका छन् भने अझै पनि कति अनुसन्धान भइरहेकै छ । तर, यस क्षेत्रको भूबनोट, इतिहास र भौगर्भिक विशेषतालाई पर्यटकीय दृष्टिकोणले व्याख्या गर्न र अवलोकन स्थलको रूपमा पहिचान गर्न यद्यपि बाँकी छ ।
यस क्षेत्रमा छोटो दुरीमा नै मध्ये नेपालको लेसर हिमालयमा पाइने सबैभन्दा पुरानो चट्टान (कुन्चा फर्मेसनको फिलाइट नामको चट्टान ) देखि लिएर सबैभन्दा बलिया चट्टानहरू पनि प्रशस्त पाइन्छन् । सिमेन्ट कारखानामा प्रयोग हुने चुनढुङ्गादेखि घरको धुरी छाउन प्रयोग हुने ढुङ्गाका खानी यही सानो क्षेत्रफलमा प्रशस्त पाइन्छ । नेपालको लेसर हिमालयमा पाइने अधिकांश चट्टानहरू यस क्षेत्रमा पाइने भएकाले अध्ययन अनुसन्धानका निम्ति धेरै महत्त्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष भूगर्भ शास्त्र अध्ययन गर्ने विभिन्न क्याम्पस र विश्वविद्यालयमा सयौँ विद्यार्थी आउने गरेका छन् । काठमाडौं, पोखरा, चितवन र धरानमा स्नातक तहमा भूगर्भ शास्त्र अध्ययन गर्ने विद्यार्थीहरू हरेक वर्ष यस क्षेत्रमा अध्ययन गर्न आउने र करिब दुईदेखि तीन हप्ता यसै क्षेत्र आसपासमा अध्ययन गर्ने गरेका छन् । स्नातकोत्तर तहमा अध्ययन गर्ने भूगर्भ शास्त्रका विद्यार्थीहरूको पनि अध्ययन र अनुसन्धानका लागि यो क्षेत्र रोजाइमा पर्ने गरेको छ भने कतिपय विदेशी विश्वविद्यालयका विद्यार्थी समेत आफ्नो अनुसन्धान कार्य सम्पन्न गर्न यही क्षेत्र रोज्ने गरेका छन् ।
अधिकांश परिवर्तित चट्टान पाइने यस क्षेत्रमा विभिन्न ग्रेडका चट्टान (metamorphic grade) पाइन्छन् । साथै यस क्षेत्रका विभिन्न चट्टानहरूमा चट्टान बन्ने क्रममा बनेका विभिन्न भौगर्भिक संरचना ( geological structures) हरू चट्टान भित्रै संरक्षण भएर बसेका छन् । यसले अनुसन्धानको पाटोमा थप तथ्य र प्रमाण प्रदान गर्छन् । यस्ता संरचना चट्टान भित्रै पाइदा चट्टान बनेको समयको वातावरण, माटो तथा समुन्द्रको अवस्थाको अध्ययन र अनुसन्धान गर्न सकिन्छ । चट्टान बन्ने क्रममा समुन्द्रको निकै तलको सतहमा बनेकादेखि समुन्द्रको किनारको सतहमा बनेका सम्म चट्टानहरू यस क्षेत्रमा छन् ।
चट्टान बन्ने प्रक्रिया निकै लामो र सुस्त हुन्छ । समुन्द्रमा आउने हलचल, पानीको सतह र पानीमा पाइने तत्त्वहरूले पनि चट्टानको प्रकारमा भिन्नता ल्याउँछ। त्यस्तै चट्टान बन्ने क्रममा पृथ्वीमा अस्तित्वमा रहेका प्राणीहरू तिनको अवशेष, छाप तथा कुनै पनि प्रकृतिका निशानीले पनि चट्टान र त्यसबखतको वातावरणको अध्ययनमा महत्त्वपूर्ण टेवा पुर्याउँछ । त्यस्ता छाप तथा अवशेष चट्टानहरूमा लाखौँ वर्षसम्म पनि सुरक्षित हुन्छन् । धेरैजसो परिवर्तित चट्टान पाइने भएकाले चट्टान परिवर्तित हुँदा बनेका भौगर्भिक संरचनाहरू यस क्षेत्रका चट्टानमा देखिन्छन् भने कतिपय संरचनाहरू चट्टान बन्ने सुरु अवस्थामा नै बनेका पनि अझै सुरक्षित भेटिन्छन् ।
यस क्षेत्रको मलेखु आसपासका क्षेत्रमा पाइने चुनढुङ्गा सिमेन्ट बनाउन ज्यादै उपयोगी प्रकृतिका छन् । त्यही क्षेत्रमा पाइने चुनढुङ्गा माटोको उर्वरा शक्ति बढाउन प्रयोग हुने रासायनिक मलको रूपमा पनि प्रयोग हुन्छन् । यस क्षेत्रमा पहिलेपहिले घरका धुरी छाउन प्रयोग गरिने छाउने ढुङ्गा पनि प्रशस्त पाइन्छ । पहिलेपहिले पुराना घरका धुरीमा छाउन अधिकांश यहीका ढुङ्गाहरू प्रयोग गरिन्थ्यो । छाउने ढुङ्गाका (स्लेट) पुराना खानी कतिपय ठाउँमा अझै पनि छन् । यस क्षेत्रका चट्टानमा बहुमूल्य धातुका खानी तथा धाउ प्रशस्त पाइन्छन् । मलेखु आसपासका चुनढुङ्गामा पाइने तामाका धाउदेखि बलिया चट्टान क्वार्जाइट(Quartzite)मा पाइने सिलिका(silica) र पाइराइट(pyrite) बहुमूल्य खनिजका स्रोत हुन । यस क्षेत्रमा विशेषगरी चुनढुङ्गामा बन्ने गुफाहरू पनि सानाठूला भेटिन्छन् । परेवाटार आसपासका खोला किनारमा साना ठूला गुफा अझै पनि छन् । यी गुफाहरूको पनि आफ्नै महत्त्व र भौगर्भिक रूपमा आफ्नै अनुसन्धानका पाटो छन् । यिनको बन्ने प्रक्रिया र यस्ता क्षेत्रमा निर्माण हुने भौतिक संरचनामा यसले पार्न सक्ने प्रभावको छुट्टै महत्त्व छ ।
पछिल्लो समय देशका विभिन्न भागमा ठुल्ठूला विकास निर्माण परियोजना चलिरहेका छन् । काम भइरहेको स्थानमा वनस्पति तथा जन्तु वा तिनका अंगका आकृति फेला परे कसरी जोगाउने भन्नेबारे निर्माणकर्मीहरूमा आंशिक जानकारी समेत रहेको देख्न पाइदैन । निर्माणकार्यका क्रममा जीवाष्म व्यवस्थापन गर्ने संरचना के कस्तो बनाउन आवश्यक छ भन्ने सामन्य जानकारी समेत नहुँदा यो बेथिति मौलाइरहेको हो । विकासका निर्माणका क्रममा यस क्षेत्रमा खनिएका सडक सञ्जाल र अन्य संरचना निर्माणका क्रममा जथाभाबी डोजर र एक्स्काभेटर प्रयोगको प्रचलन व्याप्त छ । भौगर्भिक र चट्टानको तथा यस क्षेत्रको महत्त्व बुझ्न र बुझाउन नसक्दा यस क्षेत्रका कतिपय महत्त्वपूर्ण भौगर्भिक संरचना मेटिने क्रममा पनि छन् ।
मलेखु धादिङ सडकखण्ड चौडा बनाउने घुम्तीहरूका पहाड फुटाउने काममा ठूला ठूला मेसिन प्रयोग गर्दा चट्टानको वास्तविक संरचना , तिनको भौगर्भिक संरचना मेटिँदै र हराउँदै गएका छन् । स्थानीय तह, प्रदेश र सङ्घको आफ्ना आफ्नै योजनामा आफूखुसी निर्माण र चट्टान कटान गरिरहेका छन् यसले सडक छेउछाउमा पहिरोको जोखिम त बढिरहेको छँदैछ, त्यसमाथि यस खुला भौगर्भिक सङ्ग्रहालयमा अपूरणीय क्षति गरिरहेको छ । अन्य सहायक सडक सञ्जाल जोड्ने क्रममा पनि भौगर्भिक महत्त्व र अवस्था ख्याल नगर्दा वास्तविक भौगर्भिक संरचना मेटिँदै गएका छन् । अर्कोतर्फ, सिमेन्ट कारखानाका लागि उपयोगी गर्ने चुनढुङ्गा उत्खननका क्रममा पनि कतिपय क्षेत्र उजाड र विनाश भएको पाइएको छ । सरोकारवाला र स्थानीय लाई यस क्षेत्रको महत्त्व बुझाउन नसक्दा बढ्दो सहरीकरणको नाममा गरिने प्राकृतिक दोहन र उत्खननको चपेटामा यस क्षेत्र पर्छ कि भन्ने भय सिर्जना भएको छ । देश विदेशी र संसार भरिकै भू-वैज्ञानिक र भूगर्भविद्मा माझ खुल्ला विश्वविद्यालय तथा सङ्ग्रहालयको रूपमा चिनिएको यस क्षेत्रले पाउनुपर्ने जति संरक्षण र महत्त्व अझै पाउन सकेको छैन । यस क्षेत्रको महत्त्व स्थानीयस्तरदेखि सरोकारवालासम्म बुझाउन सके र संरक्षण गर्न सके यस क्षेत्र भोलिका दिनमा अझै धेरै मानिसको अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्छ । देश विदेशबाट समेत यस क्षेत्रमा अध्ययन गर्न आउने अनुसन्धानकर्ताहरूको सङ्ख्या वृद्धि गर्न सकिन्छ । यसले देशको भौगर्भिक अध्ययनमा त महत्त्वपूर्ण योगदान दिन्छ साथै देशको चिनारी अन्तर्राष्ट्रिय जगतमा पनि फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । सबभन्दा महत्त्वपूर्ण, यसबाट विकास निर्माणका क्रममा फेला पर्ने जीवाष्महरू केही मात्रामा भए पनि नष्ट हुनबाट जोगिन्छन् ।
कालीदह-मलेखु-बेनीघाट खण्ड सरह नै भौगर्भिक दृष्टिकोणले महत्त्वपूर्ण देशका विभिन्न ठाउँहरूमा भिन्न खालका संरचनाहरूको निर्माण गर्ने, पुल, बाटो, उद्योगहरू निर्माण गर्ने लगायतका निर्माणका कामलाई अगाडी बढाइरहेका छौँ । तर यस कार्यलाई व्यवस्थित गर्न, दूरगामी गर्न र मुलुकले राखेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्नका लागि हामीले भूगर्भको सही अध्ययन, अन्वेषण र विश्लेषण भने बाँकी नै छ । औद्योगीकरण बिना दिगो विकास सम्भव छैन र खनिजको उत्खनन र प्रयोगबिना औद्योगीकरण सम्भव छैन । तसर्थ, खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन र उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ । नेपालको समग्र र दिगो आर्थिक विकास यहाँ हाम्रै जमिनभित्र रहेको खनिजलाई पहिचान, उत्खनन र प्रयोग गर्न सकियो तथा खनिजजन्य आयातलाई कम गर्न सकियो भनेमात्र सम्भव छ ।
लेखक परिचय:
ज्वालामुखी ४ धादिङका अश्विन समीप त्रिभुवन विश्वविद्यालयको भूगर्भ शास्त्र केन्द्रीय विभागका विद्यार्थी हुन्, उनी हाल इन्जिनियरिङ जियोलोजी प्रथम सेमेस्टरमा अध्ययनरत छन् ।
ज्वालामुखी ३ धादिङका राजु झल्लु प्रसाद त्रिचन्द्र बहुमुखी क्याम्पसको इतिहास, संस्कृति एवं दर्शनशास्त्रको विद्यार्थी हुन् । उनी पत्रकारिता क्षेत्रमा समेत आबद्ध छन् ।