गठबन्धनले गाँसेको जोडी: स्थानीय चुनावमा प्रतिस्पर्धी, संसदीय चुनावमा दम्पती

खबर

काठमाडौं । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका गणेशकुमार शाही र मनिषा कार्की विवाह बन्धनमा बाँधिएका छन् । एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका शाही र कार्की जीवनको मैदानमा भने एक ठाउँमा उभिएका छन् ।

स्थानीय चुनावमा कार्की नेकपा एकीकृत समाजवादीबाट मेयरकी प्रत्याशी बनेकी थिइन् । शाही भने नेपाली कांग्रेसबाट मेयरका प्रत्याशी थिए । चामुण्डा नगरपालिका सत्ता गठबन्धनले भागबन्डा गर्दा नेकपा एसको भागमा परेको थियो । तर, एसको जनमत कमजोर भएको र आफूहरु बलियो भएका कारण दैलेख कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै शाहीलाई अगाडि सारेको थियो ।

यसपछि सत्ता गठबन्धनकै कार्की र शाहीको प्रतिस्पर्धा पक्का भएको थियो । तर, चुनावी नतिजा आउँदा कार्की १३५ मतमात्रै ल्याएर पाँचौं भइन् । शाही ४ हजार ७० मतका साथ निर्वाचित भए ।

कार्की र शाही स्थानीय चुनावअघिसम्म अपरिचित थिए । उनीहरुको पहिलो भेट चुनावअघि गठबन्धनको बैठकमा भएको थियो । उक्त बैठकले मित्रवत प्रतिस्पर्धा गर्दै एक्लाएक्लै लड्ने निर्णय गर्‍यो । त्यसपछि दुवैजना छुट्टिएर आआफ्नो प्रचारप्रसारमा होमिए ।

चुनाव सकियो, शाहीले जिते । कार्की काठमाडौं फर्किइन् । दुवैबीच कुनै सम्पर्क र भेटघाट भएन । तर, दुवैको दोस्रो भेटको संयोग गएको प्रतिनिधिसभाको निर्वाचन भइदियो । प्रतिनिधिसभाका लागि दैलेखबाट नेकपा एसका अम्मरबहादुर थापाले टिकट पाए । आफ्नो नेता जिताउन कार्की दैलेख पुगिन् । कार्कीको भेट चुनाव प्रचारप्रसारका क्रममा शाहीसँग भयो ।

कार्की भन्छिन्, ‘उहाँलाई मैले स्थानीय तहमा चिनेको हो । त्यसपछि प्रत्यक्ष भेट भएर गफ भएको थिएन । दुवै सामाजिक रुपमा केही गर्नुपर्छ भनेर हिँडेकाले प्रतिनिधिसभाको निर्वाचनताका फेरि भेट भयो । जम्मा सात दिनमै हामी प्रेममा पर्‍यौं र विवाह गर्‍यौं ।’

एक अर्काका लागि ‘डिजर्भिङ’ लागेकाले सातै दिनमा विवाहको निर्णयसम्म पुगेको कार्कीको भनाइ छ । उनीहरुले गएको कात्तिक २८ गते विवाह गरेका थिए ।

तर, फरक विचारधारा र फरक पार्टीमा सक्रिय रहेका दुवैको अबको राजनीतिक यात्रा एकै संगठनबाट हुने कि पुरानै संगठनबाट हुने भन्नेबारे निर्णय गरिनसकेको कार्की बताउँछिन् । कार्कीका अनुसार यस प्रश्नको उत्तर दिने वेला आइसकेको छैन ।

कार्की भन्छिन्, ‘विवाह गर्ने हाम्रो निर्णय अचानक भएको हो । यसकारण सबैजना ‘सक्ड’ हुनु स्वाभाविक नै थियो । आजसम्म दुवैले राजनीतिक रुपमा समाजलाई योगदान दिएकाले विचार र सोच मिलेर यो निर्णयमा पुग्यौं । तर, पार्टीका साथीभाइ, अग्रज नेताहरुले राजनीतिक रुपमा सक्रिय नहुने कि भनेर चिन्ता लिइरहनुभएको छ, त्यो स्वाभाविक हो । हामी दुवै राजनीतिलाई माया गर्ने, राजनीतिले नै हामीलाई जोडेकाले हामी दुवैको राजनीति ओझेलमा पर्नेछैन । हामी दुवै सक्रिय हुन्छौं ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *