धादिङ । ज्वालामुखी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र समाजवादीको गठबन्धन विजयी भएको छ । ७ वडा रहेको सो पालिकामा अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका धर्मबहादुर अर्याल विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित दनैले ८ हजार ३४ मत प्राप्त गर्न सफल भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरेराम लोहनीले ५ हजार ३ सय ९९ मत पाउन सफल भए । यता उपाध्यक्षमा निर्वाचित अर्यालले ६ हजार ४ सय ४५ मत प्राप्त गर्न सफल भएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी चन्द्र कुमारी अधिकारीले ४ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मी थापा मगरले १ हजार ३ सय ३४ मत प्राप्त गरेकी छिन् ।
यता सो पालिकाको वडाध्यक्षमा वडा नं १ बाट एमालेका कृष्ण गिरी, वडा नं २ बाट कांग्रेसका राजु लोप्पा, वडा नं ३ बाट कांग्रेसका उमेश श्रेष्ठ, कांग्रेस, वडा नं ४ बाट स्वतन्त्र तर्फबाट कृष्ण बहादुर गुरुङ्ग, वडा नं ५ बाट कांग्रेसका टंक प्रसाद काप्री, वडा नं ६ बाट कांग्रेसका किशोर सेढाई, वडा नं ७ बाट कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल निर्वाचित भएका छन् ।