धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ को वडाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । पार्टीले टिकट नदिए पछि विद्रोह गरेर वडाध्यक्ष उठेका उनी स्वतन्त्र उम्मेद्वारको रुपमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको २ नम्वरको क्षेत्रीय सदस्य समेत रहेका श्रेष्ठले वडाध्यक्षमा पार्टीबाट उठ्न चाहे पनि कांग्रेसले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएको थियो ।
गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे । वडामा कुल दुई हजार ८४१ मत खसेकोमा श्रेष्ठले एक हजार ३३९ मत ल्याए भने कांग्रेस उम्मेदवार भण्डारीले ६३९ मत ल्याएका छन् । यता नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायणकुमार श्रेष्ठले ३९५ मत पाए । ४ जना नै सदस्यहरु भने कांग्रेसबाट निर्वाचित भएका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको सो वडामा उनको जीतलाई निकै अर्थपुर्ण तरिकाबाट हेरिएको छ ।