दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा

खबर मुख्य खबर

काठमाडौं । अबको केही बेरमा हुने भेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ताको पालो दिने नदिने प्रष्ट जवाफ दिनुपर्ने छ । भेटका लागि प्रचण्ड बालुवाटार पुगिसके । अरु नेताहरु पनि आएपछि बैठक हुनेछ ।

प्रचण्ड बालुवाटार पुग्ने अघि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई भेटेका थिए ।

संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन भन्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका थिए । भेटमा सहभागी लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले अनलाइनखबरसँग भनेका छन्, ‘संसदीय दलको नेतामा चयन भएकोमा बधाई दियौं । गठबन्धनलाई कायम राख्नुस् भन्यौं ।’

बालुवाटार स्रोतका अनुसार लोसपा नेताहरुले जसको नेतृत्वमा चुनावमा गएको हो, उसकै नेतृत्व कायम रहनुपर्छ भन्दै प्रधानमन्त्रीमा देउवाको दाबीलाई समर्थन गरेका थिए ।

जवाफमा देउवाले गठबन्धन कायम रहने बताए । प्रधानमन्त्री पद छाड्न माओवादी अध्यक्ष प्रचण्डले ‘जिद्दी’ गरिरहेको जिकिर गरे । तर आफूले प्रचण्डलाई प्रधानमन्त्री पद छाड्नसक्ने संकेत गरेनन् ।

‘प्रधानमन्त्री पद छाड्ने कुरा गर्नु भएन । छाड्दा के होला ? वा छाडौं कि नछाडौं पनि सोध्नुभएन,’ स्रोत भन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्रीबारे आजै निर्णय गर्न दबाव दिएका छन् । तर शुक्रबार साँझ बालुवाटारमा हुने छलफलले पनि कुनै निर्णय गर्ने सम्भावना आफूहरुले कम देखेको कांग्रेसका एक नेता बताउँछन् । भन्छन्, ‘आज छलफल त होला, तर (प्रधानमन्त्रीबारे) निर्णय चाहिँ ढिलै होला ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु निरन्तर सम्वादमा रहनु र देउवाले प्रधानमन्त्री नछाड्दा प्रचण्डसामू बलियो विकल्प नहुनुले पनि देउवा ढुक्क देखिएका हुन् ।

कांग्रेस नेताहरुका अनुसार गठबन्धन टुटेको अवस्थामा सरकार गठनका लागि समर्थन गर्ने सन्देश एमाले नेताहरुले निरन्तर दिएका छन् । संसदको ठूलमो दलका नेताको हैसियतमा देउवाले संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाए फ्लोरबाट समर्थन गर्ने एमाले नेताहरुले बताएका छन् ।

त्यो बेलामा एमालेको दाबी राष्ट्रपतिमा हुनेछ । सभामुख लिएर राष्ट्रपतिमा दुबै पार्टीले स्वीकार गर्नसक्ने पात्रबारे छलफल गर्न तयार देखिएको एक नेता बताउँछन् । भन्छन्, ‘सभापतिजीलाई जसरी पनि प्रधानमन्त्री हुने हो भन्ने लाग्यो भने विकल्प छ । अहिले उहाँ गठबन्धनकै समर्थनमा सरकारको नेतृत्व गर्न चाहनुहुन्छ ।’

कांग्रेसलाई जस्तै प्रस्ताव एमाले नेताहरुले माओवादी अध्यक्ष प्रचण्डसम्म पनि पुर्‍याएका छन् । माओवादी केन्द्रका नेताहरुले पनि एमालेसँग सहमति हुनसक्ने सम्भावना देख्छन् ।

तर शुक्रबार मात्र प्रधानमन्त्री देउवालाई भेटेका गठबन्धनका एक नेता भन्छन्, ‘एमालेको साथ कति दिन रहन्छ भन्ने प्रचण्डले पनि राम्ररी बुझनुभएको छ । उहाँसँग भरपर्दो विकल्प छैन ।’

कांग्रेस सभापति देउवा ढुक्क हुनुको अर्को कारण हो, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आडभरोसा । अध्यक्ष नेपालले प्रधानमन्त्रीमा प्रचण्डको दाबीलाई समर्थन त गरेका छन् । तर प्रचण्ड सत्ता गठबन्धन छाडेर एमालेतिर गएपनि आफूहरु नजाने विश्वास पनि देउवालाई दिलाएका छन् ।

‘प्रचण्ड र उपेन्द्र, एमालेतिर गएपनि सरकार बन्दैन,’ गठबन्धनमा आवद्ध दलका एक नेता भन्छन्, ‘माधवजी जानुहुन्न, राप्रपा मौन छ, रास्वपा दुबैतिर सम्वादमा छ ।’

नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमा (१० गतेभित्र) संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयभित्र सहमति नजुग्दा पनि सरकारको नेतृत्व आफ्नै हातमा आउने भएकाले पनि देउवाले दबाव महसुस गरेका छैनन् ।

एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘कांग्रेसको दम्भ, प्रचण्डको अस्थिरता र एमालेको षड्यन्त्र चलिरहेको छ, तीनमध्ये जसले जित्छ, त्यसकै योजनाअनुसार राजनीति अघि बढ्छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *