काठमाडौँ । आइतबारदेखि अस्पतालहरुमा ओपिडी सेवा सञ्चलन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । जेठदेखि आइतबार समेत सार्वजनिक विदा हुने भएपछि अस्पतालहरुमा ओपीडी सेवा सञ्चालनका सम्बन्धमा अन्यौलता छाएको हो । जेठदेखि स्वास्थ्य क्षेत्रका कर्मचारी पनि हप्तामा दुई दिन सार्वजनिक विदामा बस्दैछन् ।
शनिबार र आइतबार दुई दिन स्वास्थ्यकर्मी विदामा बस्ने भएपछि ओपिडी सेवा सञ्चलन गर्ने नगर्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय लिन सकेको छैन । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसँग आवद्ध संगठन र अस्पतालका निर्देशकहरूबीच छलफल गरेको थियो ।
आइतबार ओपिडी सेवा कसरी सञ्चालन गर्ने विषयमा उक्त छलफल निष्कर्षमा पुग्न सकेन । मन्त्रिपरिषद्बाट भएको निर्णय स्वास्थ्य मन्त्रालयका कर्मचारीका लागि समेत लागू हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।समिरकुमार अधिकारीले बताए । ‘हप्तामा दुई दिन विदा हुँदा बिरामीले परीक्षणका लागि पठाएको दिसा, पिसाब र रगतको परीक्षण रिपोर्टको नतिजा समेत सोमबारसम्म कुर्नुपर्ने हुन्छ । त्यस्तो अवस्था आउन नदिनका लागि स्वास्थ्यसँग सम्बन्धित पेशागत संगठनसँग मन्त्रालयले छलफल गरेको अधिकारीले बताए ।
‘सेवाग्राहीलाई सेवाबाट बञ्चित नगराउने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक छलफल गर्छ ।’ आइतबार ओपिडी सेवा सञ्चालन कसरी गर्ने भन्ने विषयमा सोमबार पुनः छलफल गरिने मन्त्रालयले जनाएको छ ।