सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा 

पर्यटन

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भर्‍याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पुर्‍याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिए ।

आधार शिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुले जिम्मा लिएको छ । हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो चारदेखि छ वटासम्म भर्‍याङ जोडेर बाटो बनाउनुपर्ने बाध्यता रहेको शेर्पाले जानकारी दिए । गतवर्षहरुमा ४० देखि ५० वटासम्म भर्‍याङ प्रयोग हुँदै आए पनि यस वर्षभने ७० वटासम्म लाग्न सक्ने भन्दै संस्थाले तयारी गरेको उनले जानकारी दिए ।

खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ । यता समितिले भने अप्रिलको पहिलो सातासम्ममा दोस्रो क्याम्पसम्म बाटो निर्माणसम्पन्न गरिसक्ने जनाएको छ । त्यसपछि दोस्रो क्याम्पदेखि चुचुरोसम्म आरोहण सञ्चालक सङ्घले बाटो निर्माण गर्न सेभेन समिट ट्रेक्सलाई जिम्मा दिएको जनाएको छ । ११ हजार मिटर डोरी टाँगेर चुचुरोसम्मको बाटो निर्माण गर्ने गरी कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाको नेतृत्वमा टोली आधारशिविरमा तयारी अवस्थामा रहेको ट्रेकका निर्देशक छाङदावा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग प्रतिव्यक्ति सगरमाथा प्रदूषण नियन्त्रण समितिले छ सय डलर र आरोहण सञ्चालक सङ्घले दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् । गतवर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहीको संख्यामा कमी आउने व्यवसायीहरुले जनाए पनि आएका आरोहीलाई मे महिनाको पहिलो सातासम्ममा आरोहण सम्पन्न गर्ने तयारी भएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *